ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 29 December 2009

भावपुर्ण श्रद्धाञ्जली


ल्यानरमनी, कार्डिफ निवासी यस संस्थाका सदस्य श्री पुष्कर लाल तिमिला का पुजनीय पिता श्री पशुपति लाल तिमिला को २४ डिसेम्बर २००९ का दिन ७१ वर्षको उमेरमा भक्तपुर, नेपाल स्थित निवासमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दछौं। यस दु:खद धडिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ


Monday, 30 November 2009

नेपाली नयाँ वर्ष मनाउने

वेल्स नेपाली समुदाय, कार्डिफको २८ नोभेम्बर २००९ को दिन बसेको चौथो बैठकको निर्णय अनुसार यहि आउँदो १३ अप्रिल २०१० (३१ चैत्र २०६६) मंगलवारको दिन साँझ बिक्रम सम्बत २०६६ लाई बिदा गर्दै नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरुको साथ "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा मनाउने निधो भएको छ।
यस कार्यक्रमको स्थान, समय तथा अन्य आवश्यक सुचनाहरु यथासक्य चाँडो यसै ब्लग मार्फत सम्बन्धित सबैलाई जानकारी गराइने छ।

Sunday, 29 November 2009

हामि गौरवान्वित छौं

यस संस्थाका संस्थापक सदस्य श्री शिवजी श्रेष्ठ "गैर आवासीय नेपाली संघ, संयुक्त अधिराज्य (NRN, UK)" जस्तो गरिमामय संस्थाको सल्लाहकारमा मनोनित हुनुभएकोमा सम्पुर्ण कार्डिफवासी नेपाली गौरवान्वित भएका छौं।
यस सफलताको लागि वहाँलाई हार्दिक बधाई दिंदै वहाँको सफल कार्यकालको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-- वेल्स नेपाली समुदाय, कार्डिफ

हार्दिक धन्यवाद

हाम्रो संस्थालाई बिभिन्न महानुभावहरुले आ-आफ्नो तरिकाले माँया प्रदान गर्नुहुने क्रम जारिनै छ। भर्खरैमात्र हाम्रा शुभचिन्तकहरुले बिभिन्न किसिमका उपहारहरु यस संस्थालाई प्रदान गर्नुभएको छ। वेल्स नेपाली समुदाय, कार्डिफ निम्नलिखित महानुभावहरुलाई वहाँहरुले प्रदान गर्नुभएको उपहारको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

रि.मे. श्री दल बहादुर लिम्बु --- १ सेट डाइस र २ सेट त्रिपासा
श्री मोती प्रसाद पुन --- वेल्स नेपाली समुदाय, कार्डिफको तुल (Banner)
श्री विर बहादुर गुरुङ --- कोथिभेडा खुकुरी


Sunday, 22 November 2009

दशैं-तिहार कार्यक्रममा प्रस्तुत गरिएका केहि मनोरंजनात्मक कार्यक्रमका झलकहरु

साना नानीहरु प्रान्जिल र प्राजन पोखरेलको यो रमाइलो नृत्य: "काफल गेडि कुटुक्कै" गितको बोलमा

छोरी माग्न जाँदा" गित प्रस्तुत गर्दै रोशन भट्टराई


Friday, 30 October 2009

सहयोगी हातहरुलाई धन्यवाद : अध्यक्ष

भर्खरै मात्र हामिले हाम्रो समुदायको दशैं-तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न गर्यों। आशा छ, सम्पुर्ण सहभागि नेपाली दाजुभाई दिदीबहिनीहरुले आफ्नोपन महशुस गरि यस कार्यक्रमबाट पुरै मनोरंजन लिनुभयो जुन हाम्रो उद्देश्य पनि थियो। यस्ता कार्यक्रमहरु सफल पार्न निश्चय पनि धेरै मेहनती र सहयोगी हातहरु लागिपरेका हुन्छन र हाम्रो यो कार्यक्रम पनि त्यसको अपवाद हुन सक्दैन। यसै ब्लग मार्फत म त्यस्ता सहयोगी हातहरुलाई वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।
सर्वप्रथम हाम्रो अनुरोधलाई स्विकार गरि प्रमुख आतिथ्यता प्रदान गर्न आफ्नो ब्यस्त समय खर्चेर यहाँसम्म पाल्नुहुने वेलायतको लागि कार्यबाहक नेपाली राजदुत श्री झविन्द्र प्रसाद अर्याल लाई ह्रदय देखिनै धन्यवाद दिन चाहन्छु। त्यस्तै अन्य अतिथिहरुमा वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका अध्यक्ष मे. रि. दल बहादुर लिम्बु तथा मे. गुप्तमान गुरुङ (ओ. सि. ब्रेकन) लाई पनि बिशेष धन्यवाद दिन चाहन्छु।
कार्डिफ वरपर बसोबास गरि संस्थाको कार्यक्रममा दिनरात खटेर आफ्नो सहयोग प्रदान गर्नुहुने निम्न महानुभावहरुलाई अध्यक्षको हैसियतले हाम्रो संस्थाको तर्फबाट म हार्दिक धन्यवाद दिन चाहन्छु।

कार्यक्रमको व्यबस्थापन, संचालन : शिवजी श्रेष्ठ, रोशन भट्टराई
कार्यक्रम स्थल प्रवेश व्यबस्थापन : अमर मल्ल
सजावट : रामचन्द्र पोखरेल, महेश देवकोटा, ज्योति खड्का, शिवजी श्रेष्ठ
किनमेल: कमल केशर चेमजोङ
साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरंजनात्मक कार्यक्रम : कविता थापा, बिकल गुरुङ, रोशन भट्टराई, अनुज राउत
खानपान व्यवस्थापन : मोति प्रसाद पुन, विर बहादुर गुरुङ, आइत गुरुङ, पुर्णचन्द्र लिङदेन, रविन्द्र तुम्बाहाम्फे, मानध्वज गुरुङ

त्यसैगरि बिभिन्न कुराहरुमा प्रायोजन गर्नुहुने निम्न प्रायोजकहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

नर्तकीहरुलाई उपहार : श्रीमान्/श्रीमती कमल केशर चेम्जोङ
राफल चिठ्ठा पुरस्कार : विर बहादुर गुरुङ, चित्र बहादुर राई, महेश देवकोटा, शिवजी श्रेष्ठ
अचार : संगिता गुरुङ, कुमारी गुरुङ, राधा घले, ज्योति राई, कमला थापा, कल्पना कन्दङ्वा
आलुदम: प्रितम कुमारी चेम्जोङ र साथिहरु
सेलरोटी: श्रीमती आइत गुरुङ, खैमती पुन, गुणशोभा गुरुङ
तरकारी: संगिता राई, बिष्णुमाया गुरुङ, शशि तुम्बाहाम्फे
चटनी: इच्छा राई

भविश्यमा पनि यस्तै सहयोग को अपेक्षा गर्दछौं।
धन्यवाद
चित्र बहादुर राई
अध्यक्ष

Wednesday, 28 October 2009

कार्डिफका नेपालीहरु रमाएको क्षण: एक अलग अनुभव

दुई महिना दुई दिन अगाडि मात्र जन्मेको कान्छो संस्थाले पहिलो पटक आयोजना गरेको दशैं-तिहार कार्यक्रम साँच्चैनै उत्साहपुर्वक सम्पन्न गरेर आफ्ना सदस्यहरु, शुभचिन्तक अनि आशावादी नजरहरुलाई शुभ बिहानीको संकेत दिन खोजेको छ, अर्थात वेल्स नेपाली समुदाय, कार्डिफले। २४ अक्टुवरको दिन, दशैं तिहार त भर्खरै गइसकेको थियो, बाहिर चिसो सिरेटो सहितको हल्का बर्षाले वातावरण चिसिए पनि रोथ कन्जरभेटिभ क्लबको वातावरण तातिएको थियो। सायद भर्खरै जन्मिएको बालक संस्थाको पहिलो कार्यक्रमको संवेदनशिलतालाई आत्मसाथ गरेर प्रमुख आतित्यथा प्रदान गर्न लण्डनदेखि वेलायतका लागि कार्यवाहक नेपाली राजदुत पनि आइपुग्नु भएको थियो। आफ्नै साँस्कृतिक पहिचान यथावत कायम राख्न सक्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत भएर आयोजकहरु नेपाली दौरा र सुरुवालमा ठटिएका थिए, जसलाई साथ दिइरहेका थिए कार्डिफ वरपरका नेपाली दाजुभाई - दिदीवहिनीहरुले ढाकाटोपी र झुम्के बुलाकी सहित।

देशमा रहँदा भन्दा परदेशिंदा आफ्नोपन अनि मौलिकताको अझ बढि खाँचो महशुस हुँदोरहेछ। त्यहि भएर कर्मभूमि वेल्सको झण्डासँगै जन्मभूमि नेपालको राष्ट्रिय झण्डा, परम्परागत बाध्यसामाग्री मादल र सारङ्गिको पृष्ठभुमीमा कार्यक्रमको शुरुवात भयो। प्रमुख अतिथि र अन्य आमन्त्रित अतिथिहरुको छोटोमिठो मन्तब्य, शुभकामना र सुझावहरु पछि शुरुभयो बहुप्रतिक्षित साँस्कृतिक कार्यक्रम। सँगसँगै उता निरन्तरता पाइरहेको थियो बेलायती नर्सिङ्टवाक (रक्सि)ले। सबैभन्दा उल्लेखनीय कुरा थियो तिहार गएपनि तिहारको झल्को दिने दिदीबहिनीको हातको सेलरोटी, आलुदम र गोलभेंडाको अचार। समग्रमा भन्नुपर्दा टिपन-टापन। अतिथिहरु भन्दैहुनुहुन्थ्यो "टिपनटापन त यस्तो छ, झन मुख्य खाना कस्तो होला। रमाइलो संयोग चाँहि एकैसाथ चलिरहेको थियो- खानापिना र गानाबजाना। स्थानीय इच्छुक (गैर पेशेवर) कलाकारहरु बाटै सिर्जित कला तारिफ योग्य थिए। उदधोषकको रहरलाग्दो उदधोषणमा साना नानीहरु प्रान्जिल पोखरेल र प्राजन पोखरेलको नृत्यले सबैलाई चकित पारेको थियो। साथमा अरु मनोरंजन दिइरहेको थियो बहिनीहरु संजिता लिम्बु, सुस्मिता गुरुङ र अस्मिता गुरुङको सामुहिक र एकल नृत्यले। अर्की बहिनी रोशा लिम्बु र न्युपोर्ट देखि हामिलाई मनोरंजन प्रदान गर्न आएका बहिनीहरु रोश्मा नेम्वाङ्ग र रुपा चोङ्गबाङ्ग को नृत्यले अझ सुनमा सुगन्ध थपेको आभाष भइरहेको थियो। रोशन भट्टराईको गित र महेश देवकोटाको कविताले कतै तिहारको झल्को दिइरहेको थियो भने कहिले आफ्नो संस्कृति अनि सबैभन्दा त आफु हुर्किएको जन्मभूमी याद दिलाइरहेको थियो। त्यसमा बिकल गुरुङ र कुम्बरानबाट आएकी बहिनी गरिमा राईको थप साँङ्गितिक प्रस्तुतिको पनि प्रशंसा नगरि रहन सकिन्न। जति जति मंचमा कलाकारहरु आफ्नो कला देखाइरहेका थिए, मंच अगाडि केटाकेटीहरु पनि तालमा ताल मिलाएर उफ्रिरहेका देखिन्थे। कार्यक्रममा नृत्य प्रस्तुत गर्ने भाइबहिनीहरुलाई प्रोत्साहन गर्न मायाको चिनो र £१० प्रदान गर्दै हुनुहुन्थ्यो कमल केशर चेम्जोङ र प्रितम कुमारी चेम्जोङ। उक्त चिनो वहाँहरुले नै प्रायोजन गर्नुभएको थियो भने £१० भने संस्थाको तर्फबाट प्रदान गरिएको थियो। साँस्कृतिक कार्यक्रमको छोटो बिश्रामसँगै सहभागिहरुको "फोटो सेशन" हेर्न लायक थियो, अर्थात "हामी पनि फोटो खिचौंन"। यसरि कार्यक्रम अगाडि बढ्दै जाँदा उता बफेट तयार भइसकेको थियो भने यता मंचमा प्रायोजित पुरस्कार सहितका "राफल चिठ्ठा" खोल्ने कार्य शुरु भइसकेको थियो, जसको टिकट बिक्रिमा महिला दिदीबहिनीहरु उत्साहित भएर लागेका थिए र पुरस्कार प्रायोजकहरु चित्र बहादुर राई, महेश देवकोटा, विर बहादुर गुरुङ, शिवजी श्रेष्ठ आफुले प्रायोजन गरेका पुरस्कार कसलाई पर्ला भनि उत्साहित भएर बसेका देखिन्थे। भित्र पुरस्कार जे भएपनि बाहिर चाँहि लेखिएका थिए - साँढे, कुकुर, बाँदर, बनमान्छे, गधा, लोखर्के, स्याल आदि आदि। सानि नानी प्रान्जिलबाट खोलिएको चिठ्ठामा चिठ्ठा पर्नेहरु आफै आफ्नो पुरस्कार धोषणा गर्दै थिए - अर्थात "मलाई बाँदर पुरस्कार पर्यो, गधा पुरस्कार पर्यो" आदि आदि

सहभागिहरु चाहन्थे तोकिएको समय कहिल्यै नसकियोस, त्यसैले महिला दिदीबहिनीहरु भन्दैथिए - अब हाम्रो नाच्ने पालो, अनि फर्माइस गर्दैथिए आफुलाई मनपर्ने गितहरुको जसलाई पुरागर्न बिकल गुरुङ र अनुज राउतलाई हम्मे हम्मे परेको थियो। सबैको आ-आफ्नै फर्माइस। जोडि हुने जोडि, नहुने पनि समुहमा झमझम नाच्दै थिए, तर समय त घर्किसकेछ, अर्थात मध्यरात भइसकेछ, निर्धारित समय सकिएछ, तब सबैको अनुरोध हुँदाहुँदै अनि आयोजकले नचाहँदा नचाहँदै पनि कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नैपर्यो, तब अगाडि सरे उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे धन्यवाद ज्ञापन गर्न। यसरि कार्यक्रम टुङ्गिएता पनि दिदीबहिनीहरुको गुनासो भने बाँकिनै रहयो - "हामीलाई मज्जाले नाच्न समय नै पुगेन", सायद यो कार्यक्रमको रौनकता, रमाइलोपन अनि सफलताको सुचक हो क्यारे; सबैजना सह्राहना गर्दैथिए - भर्खर बनेको संस्थाको पहिलो कार्यक्रम नै यति भब्य अनि धेरैजसो कुराहरु प्रणालीगत।

जे होस कार्डिफ सहर बेलायतमा आगमन भएका नेपालीहरुको लगभग कान्छो बसोबास भएको स्थान हुन सक्छ तर समयक्रममा कार्डिफमा पनि लगभग २०० भन्दा बढि नेपालीहरुको बसोबास छ - कोहि स्थायी रुपमा त कोहि अस्थायी। यस संस्थाले जो पन्जिकृत (जो यस संस्थाका रजिष्टर्ड) सदस्य हुन्छन, तिनिहरुप्रति संस्थागत रुपमानै बिभिन्न दायित्वहरु बोकेको हुन्छ। साँस्कृतिक, बालबालिकालाई नेपाली भाषाको पठनपाठन, संगठनात्मक सहयोग लगायत अल्पसंख्यकको रुपमा स्थानीय स्तरमानै मान्यता प्राप्त गर्ने लगायतका बिभिन्न सामाजिक उद्देश्यले गठित वेल्स नेपाली समुदाय, कार्डिफले स्थानीय स्तरमा धेरै चाँडो विश्वाश जित्ने कार्य पनि गरिसकेको छ।

Monday, 26 October 2009

दशैं - तिहार २००९ कार्यक्रम सम्पन्न

ढिलै भएपनि वेल्स नेपाली समुदाय, कार्डिफको दशैं-तिहार कार्यक्रम २४ अक्टुवर, शनिवारको दिन भब्य रुपमा सम्पन्न भयो। स्थानीय रोथ कन्जरभेटिभ क्लबमा साँझ ६:३० बजे देखि मध्यरात १२:०० बजे सम्म आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली वेषभुषा तथा नेपाली संस्कृति र परम्परालाई भरमग्दुर पस्कने प्रयास गरिएको थियो। वेलायतका लागि नेपाली कार्यवाहक राजदुत श्री झविन्द्र प्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई यस संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले सभापतित्व गर्नुभएको थियो। अध्यक्षको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रममा श्री शिवजी श्रेष्ठले संस्थाको उद्देश्य र कार्यक्रमको उपादयता बारे प्रकाश पार्नुभएको थियो। वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका अध्यक्ष श्री दल बहादुर लिम्बुले हाम्रो संस्थालाई शुभकामना दिनुका साथै संस्थालाई सहि ढंगबाट अघि बढाउनको लागि केहि महत्वपुर्ण सुझावहरु दिनुभएको थियो। त्यसपछि कार्यक्रमका प्रमुख अतिथिले आफ्नो मन्तब्य राख्दै कार्डिफमा नेपालीहरु संगठित भएकोमा खुशि ब्यक्त गर्नुका साथसाथै हाम्रो संस्थाको प्रगतिको कामना गर्नुभएको थियो। संस्थाका सचिव श्री रोशन भट्टराईको उदधोषणमा संचालित उक्त कार्यक्रममा नेपाली नृत्य, गित संगित, कविता आदिबाट भरपुर मनोरंजन प्रदान गरिएको थियो। सानासाना बालबालिका देखि बुढापाका समेतले मन्चमै उक्लेर समेत नृत्य गर्नुभएको देख्दा सबै रोमान्चित भएका थिए। नेपाली दाजुभाई दिदीबहिनीहरुकै हातको नेपाली खानाको स्वादमा सबै रमाईरहेका देखिन्थे। कार्यक्रमको अन्त्यमा संस्थाका उपाध्यक्ष श्री रविन्द्र तुम्बाहाम्फेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।

(कार्यक्रमको झलकहरु हेर्न तलको फोटोमा थिच्नुहोस)

Sunday, 11 October 2009

Thursday, 8 October 2009

हाम्रो शुभचिन्तकहरु बाट प्राप्त शुभकामना

"वेल्स नेपाली समुदाय, कार्डिफ" गठन भएकोमा खुशि प्रकट गर्दै हाम्रा शुभचिन्तकहरु द्वारा बिभिन्न माध्यमहरु बाट हामिलाई पठाउनु भएको शुभकामनाहरु प्राप्त भइराखेको छ। भर्खरै बडा दशैं र तिहारको उपलक्ष्यमा "वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका" अध्यक्ष श्री दल लिम्बु तथा परिवार (हाल पोखरा, नेपाल) ले हामिलाई पठाउनु भएको शुभकामना सन्देश प्राप्त भयो। उक्त शुभकामना सन्देशको लागि यो संस्था वहाँ लगायत वहाँको परिवार तथा वेल्स गोर्खा कम्युनिटि, कुम्बरान लाई हार्दिक धन्यवाद दिन चाहन्छ।
श्री दल लिम्बु तथा परिवार साथै वेल्स गोर्खा कम्युनिटि, कुम्बरानलाई २०६६ शालको तिहारको उपलक्ष्यमा यस संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना।


Thursday, 1 October 2009

"दशैं - तिहार २००९" भेलाको कार्यक्रम तथा अन्य जानकारी

आगामी २४ अक्टोबर २००९, शनिवारको दिन आयोजना गरिने "दशैं - तिहार २००९" भेलाको बारेमा सम्बन्धित सबैलाई जानकारी नै छ। यो कार्यक्रम कार्डिफ वरपर बस्ने सम्पुर्ण नेपालीहरुलाई एउटै थलोमा राखि शुख:दुख बाँड्ने र आपसी भाइचारा अभिबृद्धि गरि नेपाली संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। यो कार्यक्रम हामी सबैको आफ्नै कार्यक्रम हो र यसलाई हामी सबैको सहयोग र सदभावले नै सफल बनाउन सकिन्छ। कार्डिफ वरपर बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिताको अपेक्षा गर्दछौं।

------------------------------------------
कार्यक्रम सम्बन्धि जानकारी
------------------------------------------
मिति : २४ अक्टोबर २००९, शनिवार
समय : १८:३० बजे देखि राति २४:०० बजे सम्म
स्थान : Roath Conservative Club
7/11 Cyril Crescent
Roath
Cardiff
CF24 1DQ

----------------------------------------
कार्यक्रमको प्रारम्भिक स्वरुप
----------------------------------------
१८:३० बजे : सम्पुर्ण सदस्य महानुभावहरुको आगमन
१९:०० बजे : प्रमुख अतिथी तथा अन्य अतिथीहरुको आगमन
१९:१५ बजे : टिपन टापन, गफगाफ र आपसी शुभकामना आदानप्रदान
१९:४५ बजे : स्वागत मनतब्य र अध्यक्षको सम्बोधन
२०:३० बजे : मनोरंजन सदस्यहरु बाट साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरंजनात्मक कार्यक्रम
२१:३० बजे : अतिथिहरुको मन्तब्य
२१:५० बजे : बफेट भोज
२२:२० बजे : बिङ्गो खेल
२२:५० बजे : सबैजनाको लागि खुला नृत्य
२३:५९ बजे : कार्यक्रम समाप्त र सबैले कार्यक्रम स्थल अनिवार्य छोड्नु पर्ने

----------------------------------
प्रवेश टिकटको व्यवस्था
----------------------------------
कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ। टिकट अग्रिम लिंदा हामिलाई कार्यक्रममा पाल्नुहुने महानुभावहरुको संख्या निर्धारण गर्न सजिलो हुने हुनाले र अग्रिम टिकट लिन प्रोत्साहन गर्ने हेतुले प्रवेश शुल्कमा केहि सहुलियतको व्यवस्था गरिएको छ। कार्यक्रमको दिन कार्यक्रम स्थलमै पनि बढि शुल्क तिरेर टिकट लिन सकिने व्यवस्था मिलाइएको छ।
टिकट दर यसप्रकार छ:
प्रतिव्यक्ति: ५ पाउन्ड (१७ अक्टोवर, २००९ सम्म)
६ पाउन्ड (१८ अक्टोवर देखि कार्यक्रम हुने समय सम्म र कार्यक्रम स्थलको प्रवेश द्वारमा)
नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

------------------------------------
पाहुना सम्बन्धि व्यवस्था
------------------------------------
नेपाली संस्कृति र परम्पराको आफ्नै बिशेषता र पहिचान छ। यो परम्परा र संस्कृतिलाई वेलायतका अन्य गैर नेपाली समुदायलाई पनि चिनाउने हाम्रो उद्देश्य भएकोले आ-आफ्ना गैर नेपाली साथिभाइ इष्टमित्रहरु लाई पनि पाहुनाको रुपमा ल्याउन सकिने व्यवस्था मिलाइएको छ। पाहुनाको हकमा पनि माथि उल्लेख गरे बमोजिम नै प्रवेश शुल्कको व्यवस्था गरिेएको छ।

-------------------------------------
पोशाक सम्बन्धि व्यवस्था
-------------------------------------
थुप्रै जातजाति, धर्म संस्कृति र परम्परा मिलेर नै नेपाली समाज बनेको हो। हाम्रो आफ्नो पहिचान भनेको पोशाक पनि हो। त्यसैले यो कार्यक्रममा नेपाली विविधता को एकता पस्कन सम्पुर्ण सहभागि दाजुभाइ दिदीबहिनीहरु लाई सम्भव भएसम्म आफ्नोपन झल्कने आफ्नै परम्परागत वेशभुषानै पहिरिएर आउन हार्दिक अनुरोध गर्दछौं।

अन्य जानकारीको लागि यस संस्थाको कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

Thursday, 24 September 2009

वेल्स नेपाली समुदाय, कार्डिफको विधान पारित

२० सेप्टेम्बर २००९, आइतवार को दिन वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो बैठक बस्यो। उक्त बैठकमा श्री शिवजी श्रेष्ठले प्रस्तुत गर्नुभएको यस संस्थाको बिधान ब्यापक छलफल गरि सर्वसम्मतिले पारित भयो र यसै मितिदेखि लागु भएको घोषणा गरियो।
श्री चित्र बहादुर राईको अध्यक्षतामा बसेको उक्त बैठकमा आगामी दशैँ-तिहार भेला को कार्यक्रम बारेमा छलफल गरि समितिका पदाधिकारीहरु बिच कार्यबिभाजन गरिएको छ।

Saturday, 19 September 2009

Thursday, 10 September 2009

अत्यन्त जरुरी सूचना

कार्डिफ वरपर बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई "वेल्स नेपाली समुदाय, कार्डिफ" को गठन भएको अवगत नै छ। यस संस्थालाई बलियो र ससक्त बनाइ आगामी दिनमा हामी सबैको साझा थलो बनाउन यहाँहरुको सहयोग अपरिहार्य छ। यस संस्थासँग आवद्ध सबैजनालाई एकआपसमा छिटो छरितो तरिकाले सुचना आदान प्रदान होस भन्ने हेतुले हाम्रा कार्यहरु अघि बढिरहेका छन जसको लागि हामीलाई यहाँहरुको सम्पर्क ठेगाना एकदमै आवश्यक हुन्छ। त्यसैले यहाँहरुले आफ्नो नाम, हुलाक ठेगाना, ईमेल र फोन नं हामीलाई यथासक्य चाँडो यस संस्थाको इमेलमा (wnccardiff@yahoo.co.uk) अथवा ०७९८८७५६७८४ मा Text मार्फत उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
आफ्नो ईमेल पनि उपलब्ध गराइदिनुहुने महानुभावहरुको ईमेल हामीले समुहगत ईमेलमा राख्नेछौ जसको जानकारी तपाँइको इमेल मा wnc_cardiff Moderator को नामबाट Yahoo! Groups: You're invited! Join wnc_cardiff today भनेर आउनेछ। उक्त इमेल खोल्नुहोस र त्यसमा यस्तो देख्नुहुनेछ।
Join this group मा थिच्नुहोस। यसो गरेपछि तपाईको इमेल हाम्रो समुहगत इमेलमा दर्ता हुनेछ जसको जानकारी फेरि तपाईको इमेलमा आउनेछ। यसरी तपाईको इमेल दर्ता भएपछि तपाईले एउटा इमेल ठेगाना (wnc_cardiff@yahoogroups.co.uk) मा इमेल पठाउँदा सम्पुर्ण सदस्यहरु (जस जसको इमेल दर्ता भएको छ) लाई एकैपटक इमेल पुग्नेछ। यसो गर्दा छुट्टाछुट्टै सदस्यहरुको छुट्टाछुट्टै ठेगाना लेखिरहनुपर्ने झन्झट हुने छैन र तपाईले पनि अन्य सदस्यहरुले समुहगत रुपमा लेखेको इमेल प्राप्त गर्न सक्नुहुनेछ।

ध्यान रहोस: व्यक्ति विशेषलाई पठाउने इमेलहरु चैं वहाँकै व्यक्तिगत इमेलमा पठाउनु होला। सम्पुर्ण सदस्यहरुलाई पठाउने इमेल मात्र wnc_cardiff@yahoogroups.co.uk मा पठाउनु होला।
यहाँहरुको सहयोगको लागि धन्यवाद।

Tuesday, 1 September 2009

"दशैं - तिहार २००९" भेला आयोजना गरिने

वेल्स नेपाली समुदाय, कार्डिफले यस क्षेत्र वरिपरी बस्ने नेपालीहरु बिच मनोरन्जन गर्ने तथा आफ्नो मौलिक सांस्कृतिक परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले यस वर्षको विजया-दशमी तथा तिहारको उपलक्ष्यमा नेपाली कला र संस्कृति झल्काउने बिभिन्न कार्यक्रमका साथ "दशैं - तिहार २००९" भेला उल्लासपूर्ण तरिकाले मनाउने निधो गरेको छ। उक्त कार्यक्रम निम्न मिति र स्थानमा हुने जानकारी गराउन चाहन्छौं।

मिति : २४ अक्टुवर २००९, शनिवार
स्थान : Roath Conservative Club
7/11 Cyril Crescent
Roath
Cardiff
CF24 1DQ

कार्यक्रम सम्बन्धि अन्य जानकारीहरु यथासक्य छिटो यसै ब्लगमा राखिने छ।

Sunday, 30 August 2009

वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो बैठक र निर्णयहरु

वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो बैठक २९ अगष्ट २००९, शनिवार को दिन श्री चित्र बहादुर राई को अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकले निम्न लिखित निर्णयहरु गरेको छ।
‍‍‍‍‌‌‍‍* आगामी अक्टुवरको मध्यतिर दशैं तिहार को अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि हर्षोउल्लासका साथ दशैं-तिहार नेपाली भेला गर्ने
* यस संस्था सँग आवद्ध हुन चाहने नेपालीहरुमा सदस्यता प्रणाली लागु गर्ने
* आगामी बैठकमा यस संस्थाको विधान तर्फ छलफल गर्नेगरि विधान निर्माण प्रक्रियाको थालनी गर्ने
* यस संस्थाको आफ्नै ब्लग औपचारिक रुपमा सुरुवात गर्ने

Tuesday, 25 August 2009

कार्डिफ मा प्रथम नेपाली भेला सम्पन्न, "वेल्स नेपाली समुदाय, कार्डिफ" गठन

सामाजिक परिवेशमा हुर्कने बढ्ने बानी भएको हामी नेपालीलाई परदेशमा पनि त्यहि परिवेशको चाहना हुनु स्वाभाविक नै हो। मर्दा र पर्दा आफ्नै मान्छे चाहिन्छ भन्ने हाम्रा अग्रजहरुको भनाईलाइ चरितार्थ पार्दै वेल्सको राजधानी कार्डिफको वरिपरी बस्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु खेल्ने र रम्ने एउटै आँगन बनाउने उद्देश्यले २२ अगस्ट २००९, शनिवारको दिन कार्डिफ स्थित स्थानीय पवमा प्रथम नेपाली भेला आयोजना गरियो।
लगभग १८० जना नेपालीहरुको उपस्थिति रहेको उक्त भेलामा नेपाली खानाको स्वाद तथा नेपाली नाचगान द्वारा भरपुर मनोरन्जन प्रदान गरिएको थियो। भेलामा उपस्थित सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुको सल्लाह र सहमति अनुरुप कार्डिफ वरपर बस्ने नेपालीहरुबिच आपसी सदभाव र सहकार्यको लागि संस्थागत रुपमा अघि बढ्न राजनिति, धर्म, सम्प्रदाय, जातजाति बाट माथि ऊठि नितान्त नेपाली मात्रको एक संस्थाको रुपमा "वेल्स नेपाली समुदाय, कार्डिफ" को गठन गरियो। यसै भेलाद्वारा सर्वसम्मतिले श्री चित्र बहादुर राईको अध्यक्षतामा यस संस्थाको १५ सदस्यीय प्रथम कार्यसमितिको पनि चयन गरेको छ।
यस संस्थाको उत्तरोत्तर प्रगतिको लागि यहाँहरूको सहयोग र सुझावको सँधै अपेक्षा गर्दछौ र आगामी दिनमा अझ ससक्त ढंगले अधि बढि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबध्दता व्यक्त गर्न चाहन्छौं। यो प्रथम भेलामा सहभागि सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त भेलालाई अत्याधिक मनोरंजक एवं सफल बनाउन आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।
BAR YK पवका गेरेथ मोरगन, स्पाइस रुट रेष्टूरेन्टका मेनेजर र श्रीमान् श्रीमती आइत गुरुङ लाई वहाँहरुको सहयोगको लागि विशेष धन्यवाद दिन चाहन्छौ।



भेलाका केहि झलकहरु हेर्न तल थिच्नुहोस।