ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 28 October 2009

कार्डिफका नेपालीहरु रमाएको क्षण: एक अलग अनुभव

दुई महिना दुई दिन अगाडि मात्र जन्मेको कान्छो संस्थाले पहिलो पटक आयोजना गरेको दशैं-तिहार कार्यक्रम साँच्चैनै उत्साहपुर्वक सम्पन्न गरेर आफ्ना सदस्यहरु, शुभचिन्तक अनि आशावादी नजरहरुलाई शुभ बिहानीको संकेत दिन खोजेको छ, अर्थात वेल्स नेपाली समुदाय, कार्डिफले। २४ अक्टुवरको दिन, दशैं तिहार त भर्खरै गइसकेको थियो, बाहिर चिसो सिरेटो सहितको हल्का बर्षाले वातावरण चिसिए पनि रोथ कन्जरभेटिभ क्लबको वातावरण तातिएको थियो। सायद भर्खरै जन्मिएको बालक संस्थाको पहिलो कार्यक्रमको संवेदनशिलतालाई आत्मसाथ गरेर प्रमुख आतित्यथा प्रदान गर्न लण्डनदेखि वेलायतका लागि कार्यवाहक नेपाली राजदुत पनि आइपुग्नु भएको थियो। आफ्नै साँस्कृतिक पहिचान यथावत कायम राख्न सक्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत भएर आयोजकहरु नेपाली दौरा र सुरुवालमा ठटिएका थिए, जसलाई साथ दिइरहेका थिए कार्डिफ वरपरका नेपाली दाजुभाई - दिदीवहिनीहरुले ढाकाटोपी र झुम्के बुलाकी सहित।

देशमा रहँदा भन्दा परदेशिंदा आफ्नोपन अनि मौलिकताको अझ बढि खाँचो महशुस हुँदोरहेछ। त्यहि भएर कर्मभूमि वेल्सको झण्डासँगै जन्मभूमि नेपालको राष्ट्रिय झण्डा, परम्परागत बाध्यसामाग्री मादल र सारङ्गिको पृष्ठभुमीमा कार्यक्रमको शुरुवात भयो। प्रमुख अतिथि र अन्य आमन्त्रित अतिथिहरुको छोटोमिठो मन्तब्य, शुभकामना र सुझावहरु पछि शुरुभयो बहुप्रतिक्षित साँस्कृतिक कार्यक्रम। सँगसँगै उता निरन्तरता पाइरहेको थियो बेलायती नर्सिङ्टवाक (रक्सि)ले। सबैभन्दा उल्लेखनीय कुरा थियो तिहार गएपनि तिहारको झल्को दिने दिदीबहिनीको हातको सेलरोटी, आलुदम र गोलभेंडाको अचार। समग्रमा भन्नुपर्दा टिपन-टापन। अतिथिहरु भन्दैहुनुहुन्थ्यो "टिपनटापन त यस्तो छ, झन मुख्य खाना कस्तो होला। रमाइलो संयोग चाँहि एकैसाथ चलिरहेको थियो- खानापिना र गानाबजाना। स्थानीय इच्छुक (गैर पेशेवर) कलाकारहरु बाटै सिर्जित कला तारिफ योग्य थिए। उदधोषकको रहरलाग्दो उदधोषणमा साना नानीहरु प्रान्जिल पोखरेल र प्राजन पोखरेलको नृत्यले सबैलाई चकित पारेको थियो। साथमा अरु मनोरंजन दिइरहेको थियो बहिनीहरु संजिता लिम्बु, सुस्मिता गुरुङ र अस्मिता गुरुङको सामुहिक र एकल नृत्यले। अर्की बहिनी रोशा लिम्बु र न्युपोर्ट देखि हामिलाई मनोरंजन प्रदान गर्न आएका बहिनीहरु रोश्मा नेम्वाङ्ग र रुपा चोङ्गबाङ्ग को नृत्यले अझ सुनमा सुगन्ध थपेको आभाष भइरहेको थियो। रोशन भट्टराईको गित र महेश देवकोटाको कविताले कतै तिहारको झल्को दिइरहेको थियो भने कहिले आफ्नो संस्कृति अनि सबैभन्दा त आफु हुर्किएको जन्मभूमी याद दिलाइरहेको थियो। त्यसमा बिकल गुरुङ र कुम्बरानबाट आएकी बहिनी गरिमा राईको थप साँङ्गितिक प्रस्तुतिको पनि प्रशंसा नगरि रहन सकिन्न। जति जति मंचमा कलाकारहरु आफ्नो कला देखाइरहेका थिए, मंच अगाडि केटाकेटीहरु पनि तालमा ताल मिलाएर उफ्रिरहेका देखिन्थे। कार्यक्रममा नृत्य प्रस्तुत गर्ने भाइबहिनीहरुलाई प्रोत्साहन गर्न मायाको चिनो र £१० प्रदान गर्दै हुनुहुन्थ्यो कमल केशर चेम्जोङ र प्रितम कुमारी चेम्जोङ। उक्त चिनो वहाँहरुले नै प्रायोजन गर्नुभएको थियो भने £१० भने संस्थाको तर्फबाट प्रदान गरिएको थियो। साँस्कृतिक कार्यक्रमको छोटो बिश्रामसँगै सहभागिहरुको "फोटो सेशन" हेर्न लायक थियो, अर्थात "हामी पनि फोटो खिचौंन"। यसरि कार्यक्रम अगाडि बढ्दै जाँदा उता बफेट तयार भइसकेको थियो भने यता मंचमा प्रायोजित पुरस्कार सहितका "राफल चिठ्ठा" खोल्ने कार्य शुरु भइसकेको थियो, जसको टिकट बिक्रिमा महिला दिदीबहिनीहरु उत्साहित भएर लागेका थिए र पुरस्कार प्रायोजकहरु चित्र बहादुर राई, महेश देवकोटा, विर बहादुर गुरुङ, शिवजी श्रेष्ठ आफुले प्रायोजन गरेका पुरस्कार कसलाई पर्ला भनि उत्साहित भएर बसेका देखिन्थे। भित्र पुरस्कार जे भएपनि बाहिर चाँहि लेखिएका थिए - साँढे, कुकुर, बाँदर, बनमान्छे, गधा, लोखर्के, स्याल आदि आदि। सानि नानी प्रान्जिलबाट खोलिएको चिठ्ठामा चिठ्ठा पर्नेहरु आफै आफ्नो पुरस्कार धोषणा गर्दै थिए - अर्थात "मलाई बाँदर पुरस्कार पर्यो, गधा पुरस्कार पर्यो" आदि आदि

सहभागिहरु चाहन्थे तोकिएको समय कहिल्यै नसकियोस, त्यसैले महिला दिदीबहिनीहरु भन्दैथिए - अब हाम्रो नाच्ने पालो, अनि फर्माइस गर्दैथिए आफुलाई मनपर्ने गितहरुको जसलाई पुरागर्न बिकल गुरुङ र अनुज राउतलाई हम्मे हम्मे परेको थियो। सबैको आ-आफ्नै फर्माइस। जोडि हुने जोडि, नहुने पनि समुहमा झमझम नाच्दै थिए, तर समय त घर्किसकेछ, अर्थात मध्यरात भइसकेछ, निर्धारित समय सकिएछ, तब सबैको अनुरोध हुँदाहुँदै अनि आयोजकले नचाहँदा नचाहँदै पनि कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नैपर्यो, तब अगाडि सरे उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे धन्यवाद ज्ञापन गर्न। यसरि कार्यक्रम टुङ्गिएता पनि दिदीबहिनीहरुको गुनासो भने बाँकिनै रहयो - "हामीलाई मज्जाले नाच्न समय नै पुगेन", सायद यो कार्यक्रमको रौनकता, रमाइलोपन अनि सफलताको सुचक हो क्यारे; सबैजना सह्राहना गर्दैथिए - भर्खर बनेको संस्थाको पहिलो कार्यक्रम नै यति भब्य अनि धेरैजसो कुराहरु प्रणालीगत।

जे होस कार्डिफ सहर बेलायतमा आगमन भएका नेपालीहरुको लगभग कान्छो बसोबास भएको स्थान हुन सक्छ तर समयक्रममा कार्डिफमा पनि लगभग २०० भन्दा बढि नेपालीहरुको बसोबास छ - कोहि स्थायी रुपमा त कोहि अस्थायी। यस संस्थाले जो पन्जिकृत (जो यस संस्थाका रजिष्टर्ड) सदस्य हुन्छन, तिनिहरुप्रति संस्थागत रुपमानै बिभिन्न दायित्वहरु बोकेको हुन्छ। साँस्कृतिक, बालबालिकालाई नेपाली भाषाको पठनपाठन, संगठनात्मक सहयोग लगायत अल्पसंख्यकको रुपमा स्थानीय स्तरमानै मान्यता प्राप्त गर्ने लगायतका बिभिन्न सामाजिक उद्देश्यले गठित वेल्स नेपाली समुदाय, कार्डिफले स्थानीय स्तरमा धेरै चाँडो विश्वाश जित्ने कार्य पनि गरिसकेको छ।

No comments:

Post a Comment