ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Monday, 29 November 2010

कार्डिफ काउन्सिलका लर्ड मेयरसंग परिचयात्मक भेटघाट सम्पन्न

गत २ नोभेम्बर २०१०, मंगलबारका दिन “वेल्स नेपाली समुदाय”, कार्डिफको एक प्रतिनिधि मण्डल र कार्डिफ काउन्सिलका लर्ड मेयर श्री किथ हाइड बिच परिचयात्मक भेटघाट सम्पन्न भयो। लर्ड मेयर श्री किथ हाइड र श्रीमती लर्ड मेयर आन हाइड ले “वेल्स नेपाली समुदाय”, कार्डिफका प्रतिनिधि मण्डललाई गहन सम्मानका साथ स्वागत गरेका थिए। चियापान समारोहका साथ सुरुवात भएको उक्त भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले संस्थाको परिचय दिनुका साथै भेटघाटमा उपस्थित सम्पूर्ण पदाधिकारीहरुको परिचय दिनुभयो भने कार्यसमिति सदस्य श्री शिबजी श्रेष्ठले कार्डिफमा “वेल्स नेपाली समुदाय”को स्थापना र संस्थाको आबश्यकताबारे जानकारी दिनुका साथै संस्थाले बिगतमा गरेका क्रियाकलाप र भाबी दिनहरुमा गर्ने कार्य योजनाबारे जानकारी गराउनुभयो । लर्ड मेयर श्री किथ हाइडले नेपाली परम्परा र संस्कृति प्रति निकै चासो देखाउदै आगामी दिनहरुमा वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गर्ने कार्यक्रममा उपस्थित भई अझ बढी जानकारी लिन आफू खुशी रहेको जानकारी गराए । यसका साथै आगामी दिनहरुमा “कार्डिफ काउन्सिल” र “वेल्स नेपाली समुदाय”, कार्डिफ हातेमालो गर्दै अगाडी बढ्न इच्छुक रहेको जानकारी दिए। उक्त भेटघाटमा संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले संस्थाको उपहार र सम्मान स्वरुप नेपाली "कोथीमोडा खुकुरी" लर्ड मेयर श्री किथ हाइडलाई प्रदान गर्नुभयो। परिचयात्मक भेटघाटमा "वेल्स नेपाली समुदाय", कार्डिफको तर्फ बाट संस्थाका अध्यक्ष श्री चित्र बहादुर राई, श्रीमती संगीता राई, उपाध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फे, सह-सचिब श्री रामचन्द्र पोखरेल, सदस्यहरु श्री बिर बहादुर गुरुङ, श्री शिबजी श्रेष्ठ र श्री महेश देवकोटाको उपस्थिति थियो।

Saturday, 20 November 2010

रिमम्बरेन्स डे मा हाम्रो सहभागिता

गत १४ नोभेम्बर २०१० को दिन कार्डिफमा आयोजना गरिएको रिमेम्बरेन्स डे मा हाम्रो संस्थाको तर्फबाट भुतपूर्व गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य स्थानीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भाग लिनुभयो। बिहान १० बजे एलेक्जेन्डर बगैंचामा भेलाभई ठिक १०:५८ मा कार्यक्रमको शुरुवात भएको थियो। ११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा लडाईमा विरगति प्राप्त गर्ने सम्पुर्ण योद्धाहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि राष्ट्रगान गाई उक्त भेला परेडमा परिणत हुँदै क्याथेज पार्क वरपरका स्थानमा गई अन्त्यमा स्थानीय सिटिहलमा गई समाप्त भएको थियो। कार्यक्रमको अन्तमा सिटिहलमै परेडमा सहभागिहरुका लागि चियापानको आयोजना गरिएको थियो।

थप फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोला

Thursday, 4 November 2010

दशैं – तिहार २०६७ कार्यक्रम सम्पन्न

गत अक्टोवर २३ तारिख, शनिबारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा "दशैं – तिहार २०६७ कार्यक्रम" भब्य रुपमा सम्पन्न भयो। कार्डिफ र कार्डिफ वरपर रहेका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई समेटदै नेपालीको महान चाडहरु दशैं र तिहार एउटै थलोमा मनाएर भरपुर मनोरंजन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम साँस्कृतिक टोलीको सामुहिक प्रयासमा "यो नेपाली शिर उचाली" बोलको देशभक्ति गीतको साथमा सुरु भएको थियो। उक्त कार्यक्रममा देशभक्ति गीतले सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरु र पाहुनाहरुको मन छोएको देखिन्थ्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईले आगन्तुक पहुनाहरुलाई दशैं – तिहार २०६७ को शुभकामना संदेश दिनुभयो भने नेपाली र वेल्स राष्ट्रिय गानले सबै दाजुभाई तथा दिदीबहिनिहरुहरुलाई देशप्रेमले भाबुक बनाएको थियो।
बिभिन्न किसिमका नाच गान, कविता, उखान-टुक्का र लोकदोहोरीले भरिएको दशैं – तिहार कार्यक्रममा आफ्नै घर भित्रको प्रयासमा प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रम अत्यन्त रोचक र मन छुने खालका थिए। साँस्कृतिक कार्यक्रममा भाग लिएका साना साना बाबु नानी हरु देखि लिएर ठुला बडाको जोश र जाँगरले बाताबरणनै अत्यन्त उत्साहित देखिन्थ्यो। साँस्कृतिक कार्यक्रममा भाग लिने आफ्नै घर भित्रका कलाकारहरु विभूषित भट्टराई, प्राजन पोखरेल, शुभाआशिष श्रेष्ठ, प्रान्जिल पोखरेल, शौभाग्य मोक्तान, आभाष देवकोटा, आयूष्मा श्रेष्ठ, आयूष श्रेष्ठ, प्रसंशा कन्दंवा, संजिता लिंग्देन, प्रिती गुरुङ, अम्बिका गुरुङ, जेबिना तन्डुकार, रोशा चेम्जोङ, अस्मिता गुरुङ, सुमन तिमिल्सिना, महेश देवकोटा, मोति पुन, खैमति पुन, साबित्री श्रेष्ठ, सन्जु भट्टराई,चित्राकला देवकोटा, शोभा पोखरेल, अमर मल्ल, शिवजी श्रेष्ठ, रोशन भट्टराई र राम
चन्द्र पोखरेलहरुले देखाएका नेपाली सस्कृति झल्कने नाच गान, कविता, उखान-टुक्का र लोक-दोहोरीले गाउँघरनै बिर्साएको थियो।
कार्डिफको सेन्ट मेलन भिलेज हलमा भएको उक्त कार्यक्रममा सजिसजावटका झिलिमिली सामग्रीहरुले हलको रुपरंग सौन्दर्य जनक देखिन्थ्यो। देशी तथा बिदेशी पाहुनाहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रममा पाहुनाहरु वेलायती संसदका सांसद माननीय एलन माईकल, कार्डिफ काउन्सिलका काउन्सिलर गेभिन कोक्स, कार्डिफ काउन्सिलकी डेपुटी लिडर काउन्सिलर जुडिथ उडम्यान, भोलुन्टियर एक्सन कार्डिफकी हेलेना जोन्स का साथै वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका अध्यक्ष लक्ष्मी लिम्बुको उपस्थिति थियो भने मुख्य अतिथि एलन माइकलले नेपाली भाषाबाट दिएको दशैं-तिहार शुभकामनाले सबैको वेल्स प्रतिको आत्मियता अझ मजबुत भएको आभाष हुन्थ्यो। यसै कार्यक्रमको मध्यतिर मुख्य अतिथि एलन माईकलले संस्थाको लोगो प्रतियोगिताका बिजयी तथा सहभागि र गत समर बारबिक्युमा म्युजिकल चेयरमा प्रथमहुने भाईबहिनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। दिनको ५ बजे शुरु भएको उक्त कार्यक्रम मध्यरात सम्म पनि दाजुभाई तथा दिदी बहिनीहरु आफैमा रमाउँदै नाच गानमा ब्यस्त देखिन्थे। कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फेले कार्यक्रमको सफलताको लागि हात बढाउने सम्पुर्ण सदस्यहरुका साथै कार्यक्रममा पाल्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो र साथसाथै साँस्कृतिक कार्यक्रमका सहभागिहरुलाई अध्यक्ष सहित संयुक्त रुपमा प्रशंसापत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव रोशन भट्टराई र सह-सचिव रामचन्द्र पोखरेलबाट भएको थियो।

कार्यक्रमका अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोला