ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Thursday, 4 November 2010

दशैं – तिहार २०६७ कार्यक्रम सम्पन्न

गत अक्टोवर २३ तारिख, शनिबारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा "दशैं – तिहार २०६७ कार्यक्रम" भब्य रुपमा सम्पन्न भयो। कार्डिफ र कार्डिफ वरपर रहेका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई समेटदै नेपालीको महान चाडहरु दशैं र तिहार एउटै थलोमा मनाएर भरपुर मनोरंजन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम साँस्कृतिक टोलीको सामुहिक प्रयासमा "यो नेपाली शिर उचाली" बोलको देशभक्ति गीतको साथमा सुरु भएको थियो। उक्त कार्यक्रममा देशभक्ति गीतले सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरु र पाहुनाहरुको मन छोएको देखिन्थ्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईले आगन्तुक पहुनाहरुलाई दशैं – तिहार २०६७ को शुभकामना संदेश दिनुभयो भने नेपाली र वेल्स राष्ट्रिय गानले सबै दाजुभाई तथा दिदीबहिनिहरुहरुलाई देशप्रेमले भाबुक बनाएको थियो।
बिभिन्न किसिमका नाच गान, कविता, उखान-टुक्का र लोकदोहोरीले भरिएको दशैं – तिहार कार्यक्रममा आफ्नै घर भित्रको प्रयासमा प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रम अत्यन्त रोचक र मन छुने खालका थिए। साँस्कृतिक कार्यक्रममा भाग लिएका साना साना बाबु नानी हरु देखि लिएर ठुला बडाको जोश र जाँगरले बाताबरणनै अत्यन्त उत्साहित देखिन्थ्यो। साँस्कृतिक कार्यक्रममा भाग लिने आफ्नै घर भित्रका कलाकारहरु विभूषित भट्टराई, प्राजन पोखरेल, शुभाआशिष श्रेष्ठ, प्रान्जिल पोखरेल, शौभाग्य मोक्तान, आभाष देवकोटा, आयूष्मा श्रेष्ठ, आयूष श्रेष्ठ, प्रसंशा कन्दंवा, संजिता लिंग्देन, प्रिती गुरुङ, अम्बिका गुरुङ, जेबिना तन्डुकार, रोशा चेम्जोङ, अस्मिता गुरुङ, सुमन तिमिल्सिना, महेश देवकोटा, मोति पुन, खैमति पुन, साबित्री श्रेष्ठ, सन्जु भट्टराई,चित्राकला देवकोटा, शोभा पोखरेल, अमर मल्ल, शिवजी श्रेष्ठ, रोशन भट्टराई र राम
चन्द्र पोखरेलहरुले देखाएका नेपाली सस्कृति झल्कने नाच गान, कविता, उखान-टुक्का र लोक-दोहोरीले गाउँघरनै बिर्साएको थियो।
कार्डिफको सेन्ट मेलन भिलेज हलमा भएको उक्त कार्यक्रममा सजिसजावटका झिलिमिली सामग्रीहरुले हलको रुपरंग सौन्दर्य जनक देखिन्थ्यो। देशी तथा बिदेशी पाहुनाहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रममा पाहुनाहरु वेलायती संसदका सांसद माननीय एलन माईकल, कार्डिफ काउन्सिलका काउन्सिलर गेभिन कोक्स, कार्डिफ काउन्सिलकी डेपुटी लिडर काउन्सिलर जुडिथ उडम्यान, भोलुन्टियर एक्सन कार्डिफकी हेलेना जोन्स का साथै वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका अध्यक्ष लक्ष्मी लिम्बुको उपस्थिति थियो भने मुख्य अतिथि एलन माइकलले नेपाली भाषाबाट दिएको दशैं-तिहार शुभकामनाले सबैको वेल्स प्रतिको आत्मियता अझ मजबुत भएको आभाष हुन्थ्यो। यसै कार्यक्रमको मध्यतिर मुख्य अतिथि एलन माईकलले संस्थाको लोगो प्रतियोगिताका बिजयी तथा सहभागि र गत समर बारबिक्युमा म्युजिकल चेयरमा प्रथमहुने भाईबहिनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। दिनको ५ बजे शुरु भएको उक्त कार्यक्रम मध्यरात सम्म पनि दाजुभाई तथा दिदी बहिनीहरु आफैमा रमाउँदै नाच गानमा ब्यस्त देखिन्थे। कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फेले कार्यक्रमको सफलताको लागि हात बढाउने सम्पुर्ण सदस्यहरुका साथै कार्यक्रममा पाल्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिनुभयो र साथसाथै साँस्कृतिक कार्यक्रमका सहभागिहरुलाई अध्यक्ष सहित संयुक्त रुपमा प्रशंसापत्र प्रदान गर्नुभएको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव रोशन भट्टराई र सह-सचिव रामचन्द्र पोखरेलबाट भएको थियो।

कार्यक्रमका अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोला



No comments:

Post a Comment